खाद्यका लागि कृषि अभियान नेपालमा खानाका लागि खेतीपातीको महत्वबारे जनचेतना बढाउन नीतिगत बहस, अभियान सचेतनाका कार्यक्रमका माध्यमबाट प्रभावकारी नीतिगत उपायहरू तर्जुमा गर्नका लागि नीति निर्माताहरूलाई दबाब सिर्जना गर्न आम जनता, किसानहरू र खेतीपातीमा संलग्न समुदायहरूको सामूहिक आवाज उठाउने मंच हो । यसले सबै साझेदारका साझा दृष्टिकोणका आधारमा प्रथामिक सवालहरू उठाउनु, अभ्यासकर्ताहरूको अनुभव आदानप्रदान गर्नु, र विषयगत क्षेत्रहरूमा रहेका नीतिगत मुद्दाहरू र समस्याहरूको बारेमा जनस्तरमा बहस गर्ने गर्छ ।
खाद्यका लागि कृषि अभियानले नेपालको खाना र खेतीपातीमा आएको फेरबदलको आधारमा कृषि क्षेत्रका बृहत विषयहरूमा आलोचनात्मक चेत बढाउदै कृषि क्षेत्र उन्नत बनाउन सबै तहमा रचनात्मक दबाव दिने गरी हरेक वर्ष खाना र खेतीपातीको वासलात तयार गरी सार्वजनिक गर्दै आएको छ । यो पुस्तिकामा उपलब्ध तथ्यगत विवरणका प्रस्तुतिलाई एकै ठाउँमा ल्याई संक्षेपमा तयार गरी वार्षिक रूपमा सार्वजनिक गरिदै आएको छ । अभियानका लागि सचिवालयले तयार पारेको यस मस्यौदा पुस्तिकामा खाना र खेतीपातीका विभिन्न आयामहरूको वासलात, २०८१ प्रस्तुत गरिएको छ ।