नेपालको सामुदायिक वन कार्यक्रम स्थानीय उपभोक्ता समूहमार्फत वनको संरक्षण, संवद्र्धन र सदुपयोग गर्न सफल एक उदाहरणीय कार्यक्रम हो । विगत तीन दशकदेखि यो कार्यक्रमले वन व्यवस्थापनमार्फत उपभोक्ताहरूको वन पैदावारका आवश्यकता पूर्ति गर्दै वन संरक्षण (conservation), वनको पुनस्थापना (restoration), वन क्षेत्र तथा वनको अवस्थामा सुधार (forest cover and condition improvement) गर्नमा प्रशंसनीय कार्य गरेको छ । वन संरक्षण मात्र नभई सामुदायिक वनले विपन्नमुखी कार्यक्रम, लैङ्गिक समावेशीता, उपभोक्ता समूहको लोकतान्त्रीकरण र संस्थागत विकास र स्थानीय स्तरका विकास निर्माणका कार्यक्रमहरूमा समेत उल्लेख्य योगदान गरेको छ ।