‘हरियो वन नेपालको धन” भन्ने उक्ति हामीले जन्मजात देखि नै सुन्दै आएका छौँ । हुनपनि हो, नेपाल प्राकृतिक स्रोत तथा जैविक विविधताको हिसाबले सम्पन्न देश मध्यमा गनिन्छ । फरकफरक भौगोलिक विशेषतायुक्त जमिन, जल तथा जङ्गल क्षेत्र यहाँका प्रमुख प्राकृतिक स्रोतहरू हुन । बहुसङ्ख्यक नेपाली जनताको जीविकोपार्जन प्राकृतिक स्रोतहरूमा आधारित छ । वन अनुसन्धान तथा सर्वेक्षण विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालको वन क्षेत्र बढ्दो आवस्थामा पाइन्छ । यद्यपी, त्यसबाट देशको अर्थतन्त्रमा सोझो प्रभाव भने परेको देखिएको छैन । समुदायले दाउरा, घाँस, काठपात, पानीको स्रोत उपभोग जस्ता दैनिक उपयोगमा आउने सेवा बाहेक थप स्रोत लाई आर्थिक उपार्जनसँग जोड्न सकेको छैन । वनजंगल बढेपनि वनमै आधारित उद्योग, कलकारखाना उल्लेखनीय रुपमा संन्चालनमा आउन सकेका छैनन् ।
वन क्षेत्रको विस्तारले माटो, जलाधार, चराचुरुंगी, वन्यजन्तु, हावापानी र जैविक विविधतामा प्रत्यक्ष/अप्रत्यक्ष टेवा पु¥याएको कुरालाई नकार्न नसकिएतापनि उत्पादनशील समेत रहेको वनबाट नेपालले लाभ लिन धेरै ढिलो भईसकेको अवस्था छ । जसले गर्दा, स्थानीय स्रोत (काठ) खेर गईरहेको छ भने काठको आन्तरिक माग परिपूर्ति गर्न हरेक वर्ष हजारौं क्यूबफिट काठ विभिन्न देशबाट आयात भईरहेको छ । नेपालमा वन व्यवस्थापनका लागि सामुदायिक वन एक सफल कार्यक्रमको रूपमा स्थापित भएतापनि उपलब्ध काष्ठ र गैह्रकाष्ठ उत्पादनलाई दिगो रूपमा उपयोगमा ल्याई वन स्रोतमा आश्रित घरधुरी तथा परिवारहरूको जीवनस्तर उकास्ने काममा लक्ष्य भन्दा निकै कम मात्रै योगदान पु¥याइरहेको छ । वन क्षेत्रबाट हुने आम्दानीको मुख्य हिस्सा काठले ओगटेको भएतापनि लामो समयदेखि वन क्षेत्रमा काठ व्यवस्थापनको विषय समुदायको लागि जटिल कार्य बन्दै आएको छ । यस्तो अवस्थामा स्थानीय स्तरमा काष्ठ तथा काष्ठजन्य उत्पादनमा स्थानीयको पहुँचमा वृद्धि गर्ने तथा स्थानीय क्षेत्रमा रोजगारी सृजना गर्ने सवालमा घुम्ती सःमिल एउटा विकल्प हुन सक्छ ।
संसारमा काठ चिरानका लागि विभिन्न किसिमका यन्त्रहरु प्रयोग हुँदै आएका छन् । नेपालमै पनि पछिल्ला केही दशकमा काठ चिर्ने काममा फरक–फरक किसिमका यन्त्रहरु प्रयोग हुन थालेका छन् । परम्परागत आरा, बन्चरोको ठाउँमा पावर चेनःस जस्ता यन्त्रको प्रयोग हुन थालेको छ । यस्तैमा, घुम्ती सःमिल काठ चिरानका लागि प्रयोग हुने यन्त्र नै हो । यद्यपी, अवश्यकता अनुसार स्थानान्तरण गरी काठ चिर्न सकिने यसको प्रमुख विशेषता हो । स्थानीय उत्पादनमा आधारित काठ उद्योगको स्थापना तथा विकासको सम्भावना रहेको हाम्रो देशमा यसको मितव्ययी प्रयोगबाट आम उपभोत्ताको स्थानीय काठमा पहुँच बढ्ने तथा थाकथलोमै रोजगारीको अवसर पनि सृजना हुन सक्छ ।
नेपालमा भएका वन क्षेत्रहरूको दिगो व्यवस्थापन गर्न सकेको खण्डमा काठको उत्पादनबाट मात्रै पनि आम्दानी कैयौं गुणा बढी गर्न सकिने कुरा स्पष्ट देखिन्छ । वन तथा वातावरण मन्त्रालयले सातै प्रदेशमा वनमा आधारित हरित रोजगार सृजना गर्ने उद्योग सञ्चालन/सृजना गर्ने लक्ष्य लिईरहेको परिवेशमा निकट भविष्यमा वनमा आधारित उद्यमको विकास, विस्तार तथा यसका आधारमा हुने काष्ठ प्रविधिको विकास, तथा तराई–मधेस एवं मध्य पहाडी क्षेत्रको भूमिमा उच्चस्तरका काठहरूबाट काष्ठजन्य उत्पादन हुने अपेक्षा गर्न सकिन्छ । यस्तोमा अन्य ठूलो औद्योगिक प्रकृतिका काठ चिरान गर्ने यन्त्र तथा उद्योग स्थापना गर्न जटिल रहेका स्थानमा घुम्ती सःमिल एउटा विकल्प हुन सक्छ ।
यही परिस्थितीको माँझ मुख्यतया नेपालको पहाडी क्षेत्रमा सामुदायिक वन, कवुलियती वन तथा निजी वनबाट उत्पादन भएका काठलाई उपभोक्ताहरूको आवश्यकता अनुसार कटान तथा चिरान गर्न अन्य देशका ग्रामीण समुदायका लागि सुविधाजनक साबित भएको घुम्ती सःमिल नेपालको परिपे्रक्षमा स्थानीय समुदायको खर्चको कटौती, गुणस्तरको चिरान काठ उत्पादन, न्युनतम बस्तुको नोक्सान आदी उद्देश्य राखी डिभिजन वन कार्यालय, सिन्धुपाल्चोकले खरिद गरेको थियो । स्थानीय सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ताको यस सःमिल प्रतिको धारणा लिने तथा प्रविधिक पाटो केलाउने साथै स्थानिय समुदायलाई यस घुम्ति सःमिल सञ्चालन गर्न सक्षम बनाउने प्रयास स्वरुप २०७८ साल चैत्र १४ देखि १७ सम्म (४ दिने) घुम्ती सःमिल परिक्षण कार्यक्रम गरिएको थियो । सामुदायिक तथा निजी वन व्यवस्थापन अभ्यासमा सुधार गरी सामाजिक, आर्थिक तथा वातावरणीय पक्षमा सुधार ल्याउने लक्ष्य लिई जीविकोपार्जन सुधारका लागि परिष्कृत वन व्यवस्थापन कार्यक्रम (इन्लिफ्ट परियोजना) विगत केही वर्षदेखि चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं ८ र १३ लाई कार्यक्षेत्र वनाई विभिन्न १८ वटा सामुदायिक वनहरूमा विभिन्न क्षेत्रगत गतिविधि संचालनमा सहजीकरण गरीरहेको छ । डिभिजन वन कार्यालय सिन्धुपाल्चोक तथा इन्लिफ्ट परियोजनाको सहजीकरणमा यस क्षेत्रका सामुदायिक वनहरू श्रीछाप देउराली, संसारी डाँडा, बाँझेकपासे लगायतका सामुदायिक वनहरुमा सःमिलको प्रशिक्षण, परीक्षण र प्रदर्शनी कार्यक्रम सञ्चालन गरिएको थियो । यस कार्यक्रमले मुख्य रूपमा प्राविधिक परीक्षणले घुम्ती सःमिलको लागत, श्रम, चिरान समय, काठको क्षती, कार्यसम्पादन, इन्धन खपत, पार्टपुर्जा ओसारपसार, आराको गुणस्तर, दक्षता, परिचालन सुविधा, सःमिलको सामाजिक स्वीकृति परीक्षण, काठको गुणस्तर र सरोकारवालाहरूको सामान्य धारणा इत्यादिको विस्तृत अध्ययन गरी दस्तावेज तयार गरिएको छ । दीर्घकालिन रूपमा यस कार्यक्रमले वन पैदावारको उचित सदुपयोग, स्थानीय अर्थतन्त्रमा टेवा, स्थानीय बस्तुको दिगो उपयोग तथा व्यवस्थापनमा उचित भूमिका खेल्ने अनुमान गर्नुका साथै स्थानीय स्तरमा काटिएको काठको दिगो आपूर्ति सुनिश्चित गर्नेछ भन्ने गर्ने उद्देश्य लिएको छ ।
घुम्ती सःमिल परिक्षणको प्रारम्भिक नतिजालाई आधार मान्ने हो भने घुम्ती सःमिलबाट विद्यमान स्थानीय आरा मिलहरू को तुलनामा स्थापना तथा सञ्चालन गर्न सजिलो देखिएको छ । उपभोक्ताको माग अनुसार निश्चित साइजको चिरान गर्न सकिने तथा अन्य आरा मिल भन्दा कम जोखिम, ट्रलीको उचाई कम भएकोले काठ लोड अनलोड गर्न सजिलो, समथर र स्केल बमोजिमको चिरान काठ उत्पादन, मिल स्थापना पश्चात दक्ष कामदारको निगरानीमा सामान्य कामदारबाट पनि सञ्चालन गर्न सकिने, ध्वनी तथा वातावरण प्रदुषण कमी, करिब ३/३२ इन्चको सानो आरा हुनाले काठमा कम क्षती पुग्ने तथा एक पटकमा ४–८ वटासम्म कडी चिरान गर्न सकिने जस्ता सवल पक्ष देखिएको छ । घुम्ती सःमिल स्थानीय सामुदायिक वन क्षेत्र वरीपरी नै सञ्चालन गर्न सकिने भएकाले काठ ढुवानी गर्न लाग्ने समय तथा लागत घट्ने, गोलाई नै किन्नु पर्ने बाध्यताको सट्टा स्रोत भएको ठाउँमै आवश्यकता अनुसारको चिरान काठ किन्न पाइने साथै विपन्न उपभोक्तालाई रोजगारीको सिर्जना हुन्छ ।
यसरी विभन्न फाईदा हुदाँहुदै पनि यसका केही सीमाहरू भने देखिन्छ । सडक पहुँच भएको स्थानमा मात्र संचालन र ढुवानी गर्न सकिने, मेसिन लोड र अनलोड गर्न समय लाग्ने, ब्लेड साट्दा वा धार लगाउन प्राविधिक पक्षलाई ध्यान दिनु पर्ने, ठूलो व्यास भएको काठ चिरानको लागि अनुपयुक्त, बोल्ट, ट्रली, लेभल स्तरको आवधिक जाँच जरुरी हुने, कडा खालको काठ चिरानमा कठिन हुने, फल्याक चिरान गर्दा अन्तिममा ३ इन्च काठ बाँकी रहने, लेभल, ब्लेड, पानी, धार गार्ड, आदि पटक पटक अवलोकन गरी राख्नु पर्ने, मिलमा गोलिया काठ फिटिंगको लागि समय लाग्ने तथा योग्य प्राविधिकहरूको निगरानी चाहिने देखिएको छ ।
यसरी हेर्दा घुम्ती सःमिल प्रभावकारी देखिएता पनि यसको प्रयोगमा भने केही व्यवधानहरु देखिएको छ । वन व्यवस्थापन तथा स्रोत उपभोगको सवालमा विभिन्न अध्ययनहरूले यहाँको कानुनी तथा व्यवहारिक अड्चनहरू, अव्यवहारिक नीतिगत निर्णय, कर्मचारीतन्त्र, परम्परागत सोच र व्यवस्थापन शैली प्रमुख बाधकको रूपमा देखिएको छ । लागत कम गर्न, सामाजिक रूपमा स्वीकार्यता बढाउन, नीतिगत, व्यवहारिक तथा प्राविधिक पक्षलाई केलाउन थप नमुना क्षेत्रमा सम्भाव्यता परीक्षण गर्नु पर्नेछ । साथै, पूर्ण मर्मत संभार गर्न सक्ने स्थानीय दक्ष प्राविधिक उत्पादन गर्नुका साथै घुम्ती सःमिल सञ्चालन गर्न सकिने कानुनी आधार विकास गर्नु पर्ने अबको बाटो हो । कानुनी रुपमा दर्ता गरी उद्यमको रुपमा विकास गर्न केही नीतिगत जटिलता रहेको देखिए पनि समस्याको गाठो फुकाउने र उद्योग संचालनमा सहजीकरण गर्ने गरी नेपाल सरकारसँग समन्वय गरी स्थानीय स्तरमा वन उद्यम विकास, रोजगारी सृजना, महिला सशक्तिकरण र गरिबी न्युनीकरण गर्ने वातावरण घुम्ती सःमिल एक विकल्प हुन सक्छ ।
कपिल दाहाल, फरेष्टएक्सन नेपालमा अनुसन्धानकर्ता हुनुहुन्छ ।
माथि उल्लेखित विषयवस्तुहरू नितान्त लेखकको विचार र स्थलगत अनुभवमा आधारीत हो । फरेष्टएक्सन नेपाल र ईन्लिफ्ट परियोजना नेपालको धारणासँग प्रतिनिधित्व गरेको मानिने छैन ।
याे घुम्ती स: मिल कहाँ पाईन्छ कसरी खरिद गर्न सकिन्छ र मुगु जिल्ला जस्ताे विकट स्थानमा त्यसकाे उपयाेग गर्न सकिन्छकि नाई जानकारी पाउ